३० जेठ,देउखुरी- बालबालिकाको स्वास्थ्य सुरक्षामा दाङको लमही नगरपालिकाले देखाएको प्रतिबद्धता र उत्कृष्ट कार्यसम्पादनका आधारमा राष्ट्रियस्तरको सम्मान पाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रम अन्तर्गत उत्कृष्ट पालिकाको रूपमा लमही नगरपालिकालाई विशेष सम्मान गरेको हो । लुम्बिनी प्रदेशभित्र सञ्चालन भएको बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रम अन्तर्गत मूल्याङ्कनमा लमही नगरपालिका सूचकाङ्कका आधारमा उत्कृष्ट भएको हो ।
बालरोग नियन्त्रणमा देखिएको सफल कार्यक्रम कार्यान्वयन, स्रोत परिचालन, स्वास्थ्यकर्मीहरूको सक्रियता र सामुदायिक सहभागितालाई उच्च मूल्याङ्कन गर्दै मन्त्रालयले लमहीलाई सम्मान गरेको लमही नगरपालिका प्रमुख जोगराज चौधरीले बताए ।
नगर प्रमुख चौधरीले भने, ‘यो सम्मान लमही नगरबासी सबैको जित हो । हामीले बच्चाहरूको स्वस्थ भविष्यका लागि जुन प्रयास गरेका थियौँ, त्यसको मान्यता अब राष्ट्रियस्तरमै पाएका छौँ ।’ लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले बालरोग नियन्त्रणका लागि नगरपालिकाले स्थानीय तहबाट कार्यक्रमको गुणस्तरीय कार्यान्वयनमा निरन्तरता दिएको बताइन् ।
स्वास्थ्यकर्मीहरूको समर्पण, नियमित खोप सेवा, जनचेतनामूलक कार्यक्रम र आम नागरिकको सक्रिय सहभागिताले सफलताको आधार तयार भएको बताइन् । बालरोगको पहिचान र तत्काल उपचारमा उल्लेखनीय सुधार, सामुदायिक स्वास्थ्यकर्मीहरूको दक्षता अभिवृद्धि, जनचेतनामूलक कार्यक्रममार्फत् आम नागरिकको सक्रिय सहभागिता, पोषण सुधार, नियमित खोप र मातृशिशु सेवा पहुँच विस्तार जस्ता सूचकाङ्कमा लमही नगरपालिकाले राम्रो काम गरेको देखाएको छ ।
सम्मानपछि लमही नगरपालिकाले स्वास्थ्य क्षेत्रका अन्य पहलमा पनि नविन योजना ल्याउने लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद शर्माले बताए । स्वास्थ्य मन्त्रालयले दिएको सम्मानले थप जिम्मेवारी बढाएको बताउँदै स्वास्थ्य शाखा प्रमुख शर्माले भविष्यमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे ।