३० असोज । २०७७ को दशैं नजिकिँदै जाँदा विभिन्न जिल्ला प्रशासन कार्यालयहरुले आवागमनमा कडाइ गर्न थालेका छन् । यतिसम्म कि बाह्य जिल्लाबाट आउनेले नाकामा पीसीआर नै देखाउनुपर्ने आदेश स्थानीय प्रशासनबाट आएको छ । दसैं १० दिनसम्म मनाउने प्रचलन छ तर १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने आदेश स्थानीय प्रशासनले गरेका छन् ।
गत साता नै तनहुँ प्रशासनले जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार दसैंमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नपर्ने निर्देशन जारी गरेको छ । तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले हरेक टोलमा अनुगमन समिति बनाएर सक्रिय बनाइएको जानकारी दिए ।
“बाह्य जुनसुकै जिल्लाबाट आए पनि १४ दिन क्वारेन्टिन अनिवार्य रुपमा बस्नुपर्छ । मान्छेको अनुहार हेरेर कोभिड छ–छैन थाहा हुँदैन । दसैंमा आउन पाइन्छ, तर गाउँ–गाउँ किन हिँड्नु परेको छ रु” उनले भने ।
तनहुँ प्रशासनले पीसीआर अनिवार्य भनेको गरेको छैन । “आउन पाइन्छ, लापरबाही गर्न पाइँदैन,” उनले भने । तनहुँको यो निर्देशनसँगै गण्डकीका अन्य जिल्लामा पनि कोरोना फैलिन सक्नेभन्दै पीसीआर, क्वारेन्टिन अनिवार्य गरिएको सूचना जारी भएका छन् ।
बुधबार मात्र स्याङ्जाका प्रमुख जिल्ला अधिकारीले कडा निर्देशन जारी गरेका छन् । स्याङ्जामा प्रवेशका लागि ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट देखाउनु पर्ने भनिएको छ । पीसीआर नै अनिवार्य गर्ने स्याङ्जा एकमात्र जिल्ला हो । सीडीओको यो आदेशलाई त्यहाँका प्रमुख राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र नेपाली कांग्रेसले पनि समर्थन गरेका छन् ।