२०८२ असार २५ गते मङ्गलवार

जेसीज सप्ताहमा फुटसल प्रतियोगिता सम्पन्न, पत्रकार महासंघ विजेता



५ जेठ, घोराही – दाङ महिला जेसीजको आयोजनामा जेसीस सप्ताह २०२५ अन्तर्गत आज छैठौं दिन महिला फुटसल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । दाङ महिला जेसीज वर्ष २०२५ की अध्यक्ष अनिता ढकालको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य लोका विकले गर्नुभएको थियो ।

प्रमुख अतिथीसमेत रहनुभएकी प्रदेश सदस्य विकले महिला सशक्तिकरण र नेतृत्व विकासका लागि यस्ता प्रतियोगिताहरू प्रभावकारी माध्यम भएको बताउँदै जेसीजले समाजमा देखाएको सक्रियता प्रशंसनीय रहेको धारणा राख्नुभयो । उहाँले खेलकुदले महिलामा आत्मविश्वास र सहकार्यको भावना वृद्धि गराउने विश्वास व्यक्त गर्नुभयो । फुटसल प्रतियोगितामा पत्रकार, राजनीतिक दल, विभिन्न संघसंस्था र दाङ महिला जेसीजका महिलाहरू गरी चारवटा समूहको सहभागिता रहेको थियो।

विजेता बनेको महिला पत्रकार टिम

घोराहीको गैरागाउँस्थित यरिना फुटसलमा सम्पन्न उक्त प्रतियोगिताको फाइनल खेल नेपाल पत्रकार महासंघ दाङ शाखा र आयोजक संस्था दाङ महिला जेसीजबीच भएको थियो । प्रतियोगितामा पत्रकार महासंघको महिला टिमले आयोजक टिममाथि एक गोलको जित हासिल गर्दै विजेता बनेको हो । विजेता टिमलाई नगदसहित सिल्ड र प्रमाणपत्र प्रदान गरिएको हो ।

जेसिजकी प्रकरण निर्देशक रेमन्ता पुनको आस्थापाठ एवम् कार्यक्रम संयोजक प्रज्ञा स्वर्णकारको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव भीमा डिसीले गर्नुभएको थियो ।

उपविजेता बनेको दाङ महिला जेसीजको टिम

जेठ ३१ गते उदघाटनसँगै रक्तदान कार्यक्रम गरेर जेसीज सप्ताह शुरुवात गरेको दाङ महिला जेसीजले दोस्रो दिन असार १ गते घोराही १३ को ज्यामिरे सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम, तेस्रो दिन घोराही १४ झिँगौरामा अपांगता भएकाहरुलाई खाद्यान्न सहयोग गरेको छ ।

यस्तै असार ४ गते पाँचौं दिन घोराही ५ धर्नामा प्रजनन् स्वास्थ्य परामर्श कार्यक्रम आयोजना गरिएको थियो भने असार ५ गते छैठौं दिन घोराही १७ गैरागाउँस्थित फुटसल मैदानमा महिलाहरुबीच फुटसल प्रतियोगिता भएको हो । पर्सि असार ७ गते शनिवार अम्बिकेश्वरी मन्दिर परिसरमा साहित्यिक कार्यक्रम गरि सप्ताहको समापन गरिनेसप्ताह मुलसंयोजक लक्ष्मी चौधरीले बताउनुभयो ।।

प्रकाशित मिति : २०८२ असार ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्