२० असार,दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि आफन्तले चिकित्सकमाथि हातपात गरेर दुर्ब्यबहार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराही उपमहानगरपालिका–१८ मसिनास्थित ब्रह्मचारी टोल निवासी २१ वर्षकी गुड्डी सुनारलाई सुत्केरी व्यथा लागेपछि आज प्रतिष्ठानमा ल्याइएकोमा बिरामीको अबस्था जटिल भएका कारण सामान्य डेलिभरी हुन नसकेपछि शल्यक्रियामार्फत सुत्केरी गराएको केही समयमा सुत्केरीको मृत्यु भएको थियो।
प्रहरीका अनुसार सुत्केरी हुने महिलाको खुट्टा नचल्ने र प्यारालाईज्डको अबस्थामा रहेकाले बिरामिको आफन्तसंग बिरामीको गम्भिर अबस्था रहेको बारे जानकारी दिएर शल्यकृया मार्फत सुत्केरी गराईएको र केही समयपछि सुत्केरी महिलाको मृत्यु भएको तथा बच्चालाई जोगाउन सफल भएको अस्पतालले जानकारी दिएको जनाईएको छ ।
शल्यक्रियामार्फत छोरीको जन्म भएको तर केही समयपछि सुत्केरीको मृत्यु भएको थियो । बिरामीका आफन्तले चिकित्सकको कमजोरी भएको दाबी गरेपनि अस्पतालले कुनै कमजोरि नभएको बताएको छ । तर, बिरामिका आफन्तले अस्पतालको ‘अपरेशन वार्ड’मा प्रवेश गरी केही चिकित्सक माथि हातपात गरेको अस्पताल प्रशासनले जनाएको छ।
मृतकका ससुरा महाबीर सुनारले आफ्नो माइली बुहारीको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएकाले न्याय नपाएसम्म शव नउठाउने र नवजात शिशुको उपचारसहित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने बताए । प्रतिष्ठानका निमित्त निर्देशक प्राडा जनार्दन पन्थीले सुत्केरीको मृत्युबारे जानकारी लिने काम भइरहेको र वस्तुगत यथार्थ बारे पछि जानकारी गराउने बताए।
प्रकाशित मिति : २०८२ असार २१ गते शुक्रवार