२०८२ असार २५ गते मङ्गलवार

घोराहीमा प्रथम एसईई भलिबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा आनन्द अक्याडमी विजयी



३० जेठ, घोराही – दाङको घोराही-१५ रतनपुरमा रहेको मेचीकाली सेकन्डरी बोर्डिङ स्कुलको आयोजनामा प्रथम एसईई भलिबल प्रतियोगिता २०८२ आजदेखि सुरु भएको छ । विद्यालयका प्रिन्सिपल चक्रबहादुर रावतको अध्यक्षता एवं प्याब्सन,दाङका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र चन्दको प्रमुख आतिथ्यता र प्याब्सन, घोराही नगर कमिटिका अध्यक्ष बालकृष्ण ओलीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा घोराहीका ६ वटा इन्स्टिच्युटबाट १० टिमको सहभागिता रहेको छ ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथी चन्दले शारीरिक, मानसिक र सामाजिक विकासका लागि खेल अपरिहार्य भएको बताउनुभएको छ । उहाँले पढाइ मात्र होइन, खेलले पनि व्यक्तित्व विकासमा ठूलो योगदान दिने भन्दै विद्यार्थीहरुको बहुपक्षीय विकास आवश्यक रहेकोमा जोड दिनुभयो ।

आज भएको उद्घाटन खेल एपेक्स कम्प्युटर र आनन्द अक्याडमीबीच सम्पन्न भएको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आनन्द एकेडेमीले अर्को चरणमा स्थान सुरक्षित गर्न सफल भएको छ । जसमा रेफ्रिको भूमिकामा कृष्ण डी.सी., नवराज खत्री र राजेन्द्र चन्द रहनुभएको थियो । प्रतियोगिताका विजेता, उपविजेता र सान्त्वना टिमले क्रमस दश हजार, ६ हजार र चार हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

स्कुलका प्लस टु कोअर्डिनेटर विष्णुप्रसाद अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालय इन्चार्ज नारायणप्रसाद घिमिरेले गर्नुभएको थियो । उद्घाटन खेल अघि विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुतिले कार्यक्रम थप उत्साहपूर्ण बनाएको थियो ।।

प्रकाशित मिति : २०८२ जेष्ठ ३२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्