२०८२ असार ९ गते आइतवार

काठको ठेकी बनाएर जीविकोपार्जन गर्दै पूर्व माओवादी लडाकु



४ मंसिर  । २०५६ सालमा जनयुद्धमा लागेका दाङ शान्तिनगर गाउँपालिका वडा नम्बर ९३ बस्तीखोलाका भीमबहादुर विक (अर्जुन)ले १५ वर्षसम्म तत्कालिन नेकपा माओवादीमा सक्रिय हुनुभयो । देशका विभिन्न स्थानमा भएका लडाईँका मोर्चामा सहभागी हुनुभएका अर्जुनअहिले पुर्ख्यौली पेशा काठको ठेकी बनाएर दैनिकी चलाइरहनु भएको छ ।
परिवर्तनका लागि भनेर १० वर्षे सशस्त्र युद्धमा हिंडेका  अर्जुनलाई पुरानै पेशामा फर्कनु पर्छ भन्ने लागेको थिएन ।

देशमा परिवर्तनका लागि हतियार समातेका अर्जुन अहिले पनि हतियार नै चलाउनुहुन्छ । तर अहिले उहाँले चलाउने हतियार र उद्देश्य फरक छ ।
उहाँ अहिले देशको परिवर्तनका लागि हैन पेट पाल्नका लागि हतियार चलाउनु हुन्छ। ५ छोरी र श्रीमतीसहित ७ जनाको पालनपोषणका लागि उहाँले ठेकी बनाउने पुर्ख्यौली पेशा अँगाल्नु भएको छ ।

२०६३ सालमा शान्तिवार्ता भएपछि पार्टीकै निर्देशनमा वाइसीएल बनेर निस्किएका अर्जुनले २०७० सालको निर्वाचनसम्म पनि पार्टीकै निर्देशनमा काम गर्नुभयो । तर उहाँलाई पार्टीको काम चित्त बुझेन । अनि २०७१ सालमा उहाँ यो पेशामा फर्कनुभयो । गिट्ठाको रुख खोज्नु, त्यसलाई ताछेर विभिन्न साइजका ठेकी बनाउने र त्यसलाई गाउँगाउँमा लगेर विक्री गर्नु अहिले अर्जुनको दैनिकी बनेको छ ।

नेताका चिल्ला भाषणको प्रभावमा परेर १६ वर्षे लक्का जवानीमा २०५६ सालमा युद्धमा लागेका अर्जुन अहिले आएर जवानी खेर फालेकोमा पछुतो मान्नुहुन्छ ।
अर्जुनले पुर्ख्यौली पेशाको संरक्षणका लागि भाइहरुलाई आग्रह गरे पनि मानेनन् । तर छोरी ओमकुमारीले भने बुवाको पेशामा सघाउँदै र रमाउँदै आउनु भएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्