१४ असार, घोराही- मनकामना अङ्ग्रेजी माध्यमिक विद्यालय, घोराही उपमहानगरपालिका–१७, चौघेरा, दाङले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शानदार सफलता प्राप्त गर्दै सबै विद्यार्थीहरूलाई उत्तीर्ण गराएको छ। विद्यालयबाट यस वर्ष परीक्षामा सहभागी १९ जना सम्पूर्ण विद्यार्थी सतप्रतिशत पास हुन सफल भएका छन्।
विद्यालयले विगत वर्षदेखि देखाउँदै आएको शैक्षिक उत्कृष्टताको परम्परालाई निरन्तरता दिँदै यस पटक पनि सबै विद्यार्थीले सफलता प्राप्त गरेका हुन्। यसले विद्यालयको गुणस्तरीय शिक्षण प्रणाली, शिक्षकको समर्पण र विद्यार्थीको कठिन परिश्रमको स्पष्ट प्रतिबिम्ब प्रस्तुत गरेको छ। विद्यालयका प्रधानाध्यापक बालकृष्ण वलिका अनुसार यस उत्कृष्ट नतिजा विद्यालयको समर्पित शैक्षिक वातावरण, विद्यार्थीहरूको नियमित अभ्यास, र अभिभावकहरूको निरन्तर सहयोगले सम्भव भएको हो।
उहाँले सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक बधाई र आगामी अध्ययन यात्राका लागि शुभकामना समेत व्यक्त गर्नुभयो। “यो सफलता शिक्षक, विद्यार्थी र अभिभावकहरूको संयुक्त प्रयासको नतिजा हो। हामी सम्पूर्ण विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै, विद्यालयप्रति विश्वास प्रकट गर्ने सम्पूर्ण अभिभावकहरूलाई धन्यवाद व्यक्त गर्दछौं। भविष्यमा अझ सशक्त र प्रविधिमैत्री शिक्षणमार्फत अझ उत्कृष्ट नतिजा ल्याउने लक्ष्य लिएका छौं।” सहायक प्रिन्सिपल प्रकाश कालाथाेकिले भन्नुभयो ।
विद्यालयले शैक्षिक मात्र नभई अनुशासन, नैतिकता, व्यवहारिक शिक्षा तथा अतिरिक्त क्रियाकलापहरूमा समेत जोड दिँदै आएको छ। विद्यार्थीको सर्वाङ्गिण विकासमा विद्यालयको सक्रियता, विद्यालय प्रशासन र शिक्षकहरूको योगदानका कारण यहाँको शैक्षिक वातावरण अनुकरणीय बन्दै गएको बताइएको छ।