१७ पुस, दाङ ।
ग्रेगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ शुरु हुँदैछ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ ।पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्व प्रशासक एवम् ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन्।
विवाद भएपनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् ।
केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ ।
ती स्थानका होटलहरु भरिभराउ छन् । यद्यपी विगत जस्तो भने छैन । यो बर्ष कोरोना भाइरसका कारण केही कमि भएको छ । विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।
सन् २०२१ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका समस्त दिदीबहिनी तथा दाजुभाइका लागि सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यको वर्ष बनोस् भन्ने कामना गरेका छन् । अधिकांशले यो बर्षको सुरुवातदेखि नै फैलिएको विश्व महामारी कोरोना भाइरस अन्त्यको कामना गरिरहेका छन् ।